काठमाडौं, जेठ २० गते । आईसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा कतारमाथि ७९ रनको जित निकाल्दै विजयी सुरुआत गरेको छ ।
मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १५.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३८ रन जोड्न सक्यो । मध्यम लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४÷१४ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन् ।कतारको इनिङलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले सर्वाधिक ३ विकेट लिईन । यस्तै अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले २÷२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाईन । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोड्दा सानु राजवंशी २१ रन, अन्जली विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर पवेलियन फर्किए । नेपालको तीन विकेट निकाल्ने क्रममा कतारकी साची ढड्वाल र अलिना खानले १÷१ विकेट लिए । छनोटमा आयोजक मलेशिया सहित नेपाल, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन । शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने प्रतियोगिताका लागि स्थान बनाउनेछ । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध शनिबार खेल्नेछ ।







