काठमाण्डौं, ५ फागुन ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताउनुभएको छ ।
बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताउनुभएको हो । उहाँले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनुभयो । उहाँले एमसीसी राष्ट्रको हितमा रहेको दावी समेत गर्नु भयो । उहाँले भन्नुभयो – ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन । तर राष्ट्रको हितमा छ भन्नेकुरा सत्य कुरा हो यो । हामीले भन्नुपर्छ यो, सत्य हो ।’
प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताउनुभयो । पार्टीले राम्रो राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईष्र्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – ‘पार्टीको प्रचार हामीले कम गरेका छौँ । हामीले गरेका कामहरुको प्रचार कम गरेका छौँ । प्रचार भएपछि जस अरुलाई जान्छ भन्ने हामीलाई ईष्र्या छ । पार्टीले ग¥यो भन्ने नाम किन भन्नुप¥यो ? पार्टीले ग¥यो भनेर देशभरी भन्न सकिन्छ । पार्टीको प्रचार पुगेको छैन । पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन् । पार्टीले राम्रो कामहरु गरेको छ ।’
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताउनुभयो । नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यि सबैकुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्नेकुरा सँग होइन । आफुलाई जे कुरामा विश्वास लागेको छ, त्यो विश्वासका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यि सबै कुराहरुमा नेपाली कांग्रेस पार्टी अरुजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोलि फेरी राख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन ।’
महामन्त्री थापाले नेपाली कांग्रेसले कुनैपनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दावी समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here