काठमाडौं २६ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ । मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको हो । प्रवक्ता प्रा डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन । घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ । अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ । अभिभावकमा समेत सङ्क्रमणको जोखिम बढाउँछ ।’ गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताउनुभयो ।शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन् भने कतिपयमा पठनपाठनसमेत सुरु भइसकेको छ ।








