काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ ।यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् ।बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट सहयोगी र कट्टर समर्थक मानिन्थिन् । ट्रम्प प्रशासनबाट पदमुक्त गरिएकी उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्चमा गृह सुरक्षा प्रमुख क्रिस्टी नोमलाई पदमुक्त गरिएको थियो ।पदमुक्त भएपछि बोन्डीले महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्न पाउनु ‘जीवनकै ठूलो सम्मान’ भएको भन्दै अब आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्ने बताएकी छन् । साथै, निजी क्षेत्रमा पनि ट्रम्प प्रशासनका पक्षमा काम जारी राख्ने उनको भनाइ छ ।यसैबीच इरानसँगको जारी युद्धका बीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्‍यान्डी जर्जलाई राजीनामा दिन भनेका छन् ।पेन्टागनका मुख्य प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जालमार्फत् जर्ज अमेरिकी सेनाको ४१ औं चिफ अफ स्टाफको पदबाट निवृत्त हुन लागेका जानकारी दिएका छन् ।बीबीसीमा प्रकाशित समाचारमा जर्जसँग राजीनामा मागिनुको कारणबारे नखुलेको उल्लेख छ ।समाचारमै रक्षा विभागका नाम नखुलाइएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘हामी जजर्नको सेवाका लागि आभारी छौं । तर, अब सेनामा नेतृत्व परिवर्तनको समय आइसकेको छ ।’जर्जको राजीनामा पछि अब आर्मी भाइस चिफ अफ स्टाफ जनरल क्रिस्टोफर ला–नेभ कार्यवाहक आर्मी चिफ अफ स्टाफ बन्ने अमेरिकी मिडियाले जनाएका समाचारमा उल्लेख छ ।अमेरिकी आर्मी चिफको कार्यकाल चार वर्षको हुन्छ । जर्जले वेस्ट प्वाइन्ट मिलिट्री एकाडेमीमा अध्ययन गरेका थिए । उनलाई सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले आर्मी चिफ अफ स्टाफमा नियुक्त गरेका थिए ।जर्जले यसअघि खाडी युद्ध र पछि इराक तथा अफगानिस्तानसँगको संघर्षमा समेत सेवा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here