नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए ।
उनले भने, नागरिकको असन्तुष्टिलाई हामीले मान्नुपर्छ । जनताले नेताहरुले आफ्नो स्वास्र्थको लागि मात्र सोचे घुस खाए । एउटा महामन्त्री अथवा कोही व्यक्तिले गल्ती गरे सारा पार्टीले गाली खानुपर्छ । भारी बोक्नुपर्छ । भ्रष्टाचार गरे भन्ने छ । भ्रष्टाचार गर्ने जतिपनि कुरा आउँछ त्यसमा कुनै पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ । यसमा कांग्रेसले कोहीसँग सम्झौता गर्दैन । व्यक्ति चुक्न सक्ला कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ । ठिक ढङ्गले पार्टीलाई प्रस्तुत गर्न सक्नुपर्छ ।’
त्यस्तै उनले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने दाबी समेत गरे ।
उनले भने, कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन् । सबै गर्दा १२ लाख छन् । पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर अन्तिममा काठमाडौँमा पाँच हजार प्रतिनिधिबाट महाधिवेशन गर्छौँ । १२ लाख मान्छेलाई बुथमा निकाल्छौँ, उसलाई अधिवेशनमा टिक लगाउन दिन्छौँ भने प्रविधिको जमानामा त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न । जसले गुट बनायो त्यो ध्वस्त भन्यो भनौं न ।’
पार्टीलाई लोकप्रिय बनाउन सकारात्मक काम गरौं ः प्रदीप पौडेल
त्यस्तै काँग्रेस नेता प्रदीप पौडेलले आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय बन्न सक्ने बताए । सानो त्रुटि गरियो भने कांग्रेसको भोट र लोकप्रियता दुबै घट्ने अवस्था रहेको उनको भनाई छ ।
उनले भने,‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ । आज सानो त्रुटि गरियो भने पनि हाम्रो भोट घट्छ । पार्टीको लोकप्रियता घट्छ । नेतृत्वले कहिले कहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ ।’
उनले काँग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरूमाथि टिका टिप्पणीहरू हुने वा नहुने स्थिति निर्माण हुने पनि धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here