विराटनगर । संघीय गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कोशी प्रदेशसभामा बुधबार एक सांसदले गीतमार्फत विरोध जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोम्बु शेर्पाले शून्य समयमा चर्चित गीत ‘भिजिट भिसामा हजुर’ गाएर गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।
शेर्पाले आफ्नो सम्बोधनको सुरुवात चर्चित गीतबाट गर्दै भने, ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’ यस गीतमार्फत उनले विदेश पलायनमा जान बाध्य नेपाली युवाहरूको पीडा चित्रण गरेका थिए । त्यसपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा बेरोजगार युवाहरूबाट लाखौँ रुपैयाँ असुली हुने गरेको दाबी गरे ।
शेर्पाले गृहमन्त्री लेखकको सचिवालयमा ‘बदनाम र विवादास्पद’ व्यक्ति सक्रिय रहेको भन्दै मिलेमतोको आशंका व्यक्त गरे ।
उनले आरोप लगाए, ‘लुटधन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’
कांग्रेस सांसदको आपत्ति
शेर्पाको भनाइप्रति नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले कडा आपत्ति जनाए । उनले भिजिट भिसा प्रकरण संघीय सरकारले हेर्ने विषय भएको उल्लेख गर्दै प्रदेशसभामा यस विषयलाई अतिरञ्जित ढंगले उठाइएको आरोप लगाए ।
‘संसद्को आफ्नै मर्यादा हुन्छ । संघीय संसद्को अपमान हुनेगरी प्रदेशसभामा यस्ता विषय उठाइनु अनुचित हो ।’ सुनुवारले भने
उनले भिजिट भिसा सम्बन्धी विषयमा अनुसन्धान र कारबाहीको प्रक्रिया संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले त्यसलाई राजनीतिक रूपमा दुरुपयोग नगर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here