दान बहादुर बुढा
मुगु । कर्णाली प्रदेशका सबै जिल्लामा कुलदेवताका रूपमा पूजिने मष्टो देवता विशेष धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको देवता मानिन्छन् । तर, सबै मष्टो देवतामध्ये सबैभन्दा जेठो र प्रभावशाली मष्टोको रूपमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–१३, थार्प गाउँमा अवस्थित थार्प मष्टो देवतालाई मानिँदै आएको छ ।
स्थानीय वृद्धहरूका अनुसार करीब नौ पुस्ता अगाडि, वि.सं. १३ सयतिर भारतको पिथौरागढ क्षेत्रबाट थार्प गाउँमा मष्टो देवता आई एक रूखमुनि बसोबास गरेको जनश्रुति छ । त्यस यता, मष्टो थार्पको प्रमुख कुलदेवता मात्रै नभई कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लाका श्रद्धालुहरूको आस्थाको केन्द्र बनेका छन् ।
थार्प मष्टोको दर्शन तथा पूजाआजा गर्न वर्षमा छ पटक — वैशाख, साउन, कात्तिक, माघ र भैल्या पूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गर्दछ । यस मेलामा मुगु, जुम्ला, हुम्ला, दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट लगायतका कर्णाली जिल्लाहरूका साथै बाजुरा, अछाम, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ जस्ता सुदूरपश्चिम प्रदेशका जिल्लाबाट समेत हजारौं धार्मिक पर्यटक तथा भक्तजन आउने गरेका छन् ।
थार्प मष्टोको विशेषता भनेको माग गरे अनुरूप वर दिने र सत्य बोल्ने देवता मानिएको हो । जनविश्वासअनुसार, छोरा नहुनेको छोरा, अन्न नहुनेले अन्न, पशुचौपाया नहुनेले चौपाया, जीवनसाथी नपाएकाले पत्नीको वर थार्प मष्टोबाट माग्ने गर्दछन् । यहाँसम्म कि चुनावमा उम्मेदवारहरूले समेत जितको भविष्य जान्न मष्टोको दर्शन गर्न आउने गर्दछन् ।
स्थानीय धर्मगुरु तथा श्रद्धालुका अनुसार, थार्प मष्टो अन्य मष्टोभन्दा पृथक छ । अन्य देवताले निर्णय दिन नसकेका वेला थार्प मष्टाले स्पष्ट ठोकुवा गरेर परिणाम सुनाउने विश्वास रहेको छ। यसैले पनि थार्प मष्टोलाई ‘सर्वश्रेष्ठ मष्टो’को रूपमा मानिन्छ।
थार्प मष्टोको धामी बन्ने व्यक्तिले केही कठोर नियम पालना गर्नुपर्छ। धामी भएपछि ती व्यक्ति खोला नकटाई घर वरपर मात्र रहनुपर्छ। उनीहरूले खाली खुट्टा हिँड्नुपर्ने, नदी वा खोला पार नगर्नुपर्ने धार्मिक नियमहरू पालना गर्नुपर्छ। खोला कटाएर गएका खण्डमा बिरामी पर्ने वा अनिष्ट हुने जनविश्वास छ।
साउन शुक्ल पूर्णिमामा अन्य धार्मिक तीर्थस्थलहरूमा जाने चलन भए पनि थार्प मष्टोका भक्तजनहरू थार्प नजिकैको काउलापानीमा स्नान गरी पूजाआजा गर्ने गर्छन्। ‘अरु देवता भन्दा ठूलो देवता हुँ’ भन्ने थार्प मष्टोको अडान र आफूलाई समर्पित भक्तजनको माग पूरा गर्ने क्षमता भएको विश्वासले गर्दा यहाँको धार्मिक आस्था झनै गहिरिएको देखिन्छ ।
थार्प मष्टो धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले कर्णाली प्रदेशको अनमोल सम्पदा हो, जसको संरक्षण र प्रवद्र्धन आजको आवश्यकता बनिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here