सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न नभएर कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उनको माग गरेका हुन् ।
उनले भने, ‘बैसाख १२ गते बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षज्यूले चैत १५ को घटनामा भाटभटेनीमा लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ र त्यसको भिडियो फुटेज छ । उहाँलाई प्रकाउ गरियो, प्रकाउ गरिसकिएपछि सहमहामन्त्रीको छोरो हो भनेपछि छुट्याइयो भनेर रोष्टमबाटै अभिव्यक्ति दिनुभयो । सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भन्ने चलन छ । अन्य पार्टीमा सहमहामन्त्री भन्ने प्रचलन छैन । त्यसकारण नेपाली कांग्रेसलाई ईङ्गित गरेको हो भनेर बुझ्न गाहे भएको छैन । र सहमहामन्त्री आठजना हुनुहुन्छ कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोतल बोकेर हिड्नुभएको हो ? त्यो प्रमाणित गर्नको लागि आग्रह गर्दछु । होइन भने शब्द फिर्ता लिएर माफी माग्नुपर्छ ।’
चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरेपनि छाडेको अभिव्यक्ति दिएका थिए ।
उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकबाट माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here