कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका र मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले एक किसिमको भाष्य निर्माण गर्दैछ । दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् । मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ । विभिन्न वादीका नाममा देशमा अशान्ति मच्चाइ धमिलो पानीमा माछा मार्ने प्रयत्न पनि विभिन्न कोणबाट भइरहेको देखिन्छ । ’
साथै उनले संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए । उनले सांसदहरु विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको व्यवस्थापिकाको मुल काम भनेको सरकार निर्माण गर्ने, विधायन सम्बन्धि काम गर्ने, बजेट निर्माण गर्ने एवम् सरकारको नीति तथा कार्यक्रमलाई पारित गर्ने नै हो तर परम्परागत रुपमा चल्दै आएको विकासे कार्यकर्ताको रुपमा संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा संसदको मूल भूमिकामा केन्द्रित हुन सकेको अवस्था छैन । त्यसैले सांसदहरु विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु स्वभाविक हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here