राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताएका छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भन्दै सीमित नेताहरू मात्रै सहभागी हुने बताएका हुन् ।
उनले लेखेका छन्,‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’
उनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी पार्टी रहेको दाबी गर्दै आफूहरू जे गर्ने हो भनेरै गर्ने भएकाले सरकारलाई नडराउन भनेका छन् ।
उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ठान्नेहरूले सीमा तोकेर नागरिकलाई सीमित राख्न खोज्नु उचित नभएको तर्क गरेका छन् ।
राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट ¥याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।
राप्रपाले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भनेपछि गृहमन्त्रालयले संविधान र कानुनको उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here