राप्रपाको आइतबारको प्रदर्शनीको क्रममा सिंहदरबार परिसरबाट पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन परिचालन समितिले भत्र्सना गरेको छ ।
समितिले आइतवार दिउँसो विज्ञप्ति जारी गर्दै पूर्ण वाक स्वतन्त्रता रोक लगाइएको भन्दै आपत्ति प्रकट गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि बढेको अवस्थामा सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा उक्त अलोकतान्त्रिक कृत्यको हामी घोर भत्र्सना गर्दछौं ।’
विज्ञप्तिमा थप लेखिएको छ,‘पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधीहरुले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रता सहित व्यवस्थाविरुद्ध माग राख्ने गरेकोमा हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौं ।’
समितिका प्रवक्ता स्वागत नेपालले तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्राउ गरिएका जनप्रतिनिधी तथा झुठा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउन समेत सरकारसँग पुनः आह्वान गरेका छन् ।
उनले अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयमले लिनु पर्ने पनि चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here