आगामी बैशाख २६ (मे ९) गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनी फेरी टेल पिक्चर्सले विहीबारराजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो ।
फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् । फिल्म सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति फिल्मको ट्रेलरमा चित्रण गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। ‘जार’को कथालाई अन्याय हुन दिएका छैनौं, लामाले भने किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ‘जार’ तयार गरेका छौं ।’
अभिनेताद्वय सौगात र अनुपबिक्रम शाहीले एउटा इतिहासको साक्षी बस्न पाउनु आफैंमा गर्वको कुरा रहेको बताए । फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्यूयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।
फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । यो फिल्मलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल जोडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here