रामेछाप । रामेछाप जिल्लामा ज्येष्ठ कम्युनिष्टहरुका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन् ।
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो रामेछापमा सुब्बा कृष्णलालको बलिदान शताब्दी र पुष्पलालको जन्म शताब्दी मनाउन नेताहरू रामेछापमा भेला भएका हुन् ।
कृष्णलाल बलिदान शताब्दी, पुष्पलाल जन्म शताब्दी मूल समारोह समितिले आयोजना गरेको तीनदिने कार्यक्रममा सहभागी हुन कम्युनिष्ट नेताहरू रामेछापमा भेला भएका छन् । रामेछापमा आएका कम्युनिष्ट नेताहरूलाई नेकपा एमाले रामेछापले स्वागत गरेको छ ।
नेकपा एमाले रामेछापले आयोजना गरेको स्वागत कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगायतका पार्टीका पदाधिकारी, सदस्य, मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका नेताहरूले उनीहरूलाई खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले कम्युनिष्ट नेताहरूको उपस्थितिले मात्रै पनि रामेछापलाई उत्साहित बनाएका बताए । कम्युनिष्ट नेताहरूले देखाएको आदर्शबाट अविचलित भएर अघि बढ्ने प्रयत्न आफूहरूले गरिरहेको उनले बताए ।
कार्यक्रममा पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीका साथै एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा मालेका महासचिव सिपी मैनाली, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, कम्युनिष्ट नेता ईश्वरी दाहाल (असारे काका), एमाले नेत्री शान्ता मानवी, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह समरजङ्ग, नेकपा अध्यक्ष लोकनारायण सुवेदी, नेकपा ऋषि कट्टेलका नेता आर बी भण्डारी, जसपा नयाँ शक्तिकी नेत्री हिसिला यमी, समाजवादी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू माधव गौतम, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, समालोचक प्राडा हेमनाथ पौडेल, सहिद आयामकी जीवन सँगिनी सरला रेग्मी, नारायण शर्मा कमलप्रसाद, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई लगायता नेता सहभागी छन् ।
रामेछापमा पुष्पलाल माक्र्सवाद विश्वविद्यालय स्थापनको लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका संयोजक अशोक सुवेदीले जानकारी दिए । त्यस्तै साहित्यका सहिद कृष्णलाललाई राज्यको तर्फबाट प्रथम साहित्यका सहिद घोषणा गराउन दबाब दिनको लागि पनि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here