रामेछाप । उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरू माथि भएको जातीय विभेदको घटना र सो घटनामा मिलापत्र गराउने मेलमिलापकर्ता लगायतलाई कारबाहीको माग गर्दै १० वटा नागरिक संस्थाहरूले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएका छन् ।
गत फागुन २४ गते चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुग्नु भएकी वडा सदस्य शर्मिला नेपाली लगायत दलित महिलाहरूलाई जातीय आधारमा भेदभाव गरी छुट्टै बस्न तथा छुट्टै खान बाध्य पारिएको भनि फागुन २५ गते वडा कार्यालयमा निवेदन दर्ता भएको थियो ।
सो घटनालाई स्थानीय मेलमिलाप केन्द्रले मिलापत्र गराएको भन्दै नागरिक संस्थाले सोही विषयलाई लिएर जिल्लास्थित नेपाली काँग्रेसको नेपाल दलित संघ, नेकपा एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, गैरसरकारी संस्था महासंघ नेपाल, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, नेपाल राष्ट्रिय दलित पत्रकार संघ, समता मञ्च नेपाल, मिजार समाज नेपाल र परियार एकता समाजले जिल्ला प्रहरी कार्यालयमा संयुक्त उजुरी दिएका छन् ।
सो घटनाले दलित समुदायलाई मात्र पीडित बनाएको नभई देशको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका राजनीतिक दल, प्रहरी, प्रशासन र सिङ्गो राष्ट्रलाई समेत गिज्याइरहेको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले सो उजुरी माथि आवश्यक कारबाही प्रक्रिया अघि बढ्ने उजुरी लिएर गएका संस्थाका प्रतिनिधिलाई जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here