सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा सिकलसेल एनिमिया रोगको उपचार सेवा सुरु गरिएको छ । थारु समुदायमा बढी देखिने रक्तअल्पतासम्बन्धी रोग सिकलसेल एनिमियाको उपचारको लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वीरेन्द्रनगर नगरपालिकाले अस्पताललाई सिकलसेल जाँच मेसिन उपलब्ध गराएपछि प्रदेश अस्पतालमा उक्त रोगको उपचार सम्भव भएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अस्पताललाई १८ लाखभन्दा बढी मूल्य पर्ने मेसिन उपलब्ध गराएको हो । वीरेन्द्रनगर उपत्यकाका आदिवासी थारु समुदायको स्वास्थ्य प्रवद्र्धन र संरक्षण गर्न पालिकाले लिएको वार्षिक नीतिअनुसार अस्पताललाई मेसिन उपलब्ध गराइएको नगर प्रमूख ढकालले बताइन् । समयमै रोग पहिचान नहुने तथा परीक्षण गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालसँग समन्वय गरेर मेसिन उपलब्ध गराइएको नगर प्रमूख ढकालले बताइन् । अस्पतालका निर्देशक डा केशर ढकालले नगरपालिकाको प्रयासले सिकलसेलकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । कर्णालीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्देशक ढकालले आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए।उनका अनुसार प्रदेश अस्पतालमा जडान गरिएको मेसिनबाट थलासेमिया रोग पनि परीक्षण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here