रामेछाप । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाभिमान जोगाउन सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको मंगलबार मन्थलीमा उद्घाटन गर्दै पाण्डेले जो व्यक्तिले जेमा विशेषज्ञता प्राप्त गरेको हुन्छ उनीहरूले त्यसैमा केन्द्रित रहेर काम गर्नुपर्ने बताए । नेपाली सेनाले सँधै राष्ट्र राष्ट्रियताको बारेमा मात्र सोच्ने उनले स्पष्ट पारे । ‘संसारमा तपाईँ जे हुनुहुन्छ, त्यही काम गर्नुस्, जे काम गर्नुहुन्छ पूर्ण सन्तुष्टिका साथ गर्नुस्’, उनले भने ।
जसले आफूलाई बिर्सिएर देश, जनता र विश्वको लागि सोच्छ उसैको नाम सबैले सम्झने उनले बताए । ‘संसार बदल्नको लागि मानिस आफैँ परिवर्तन हुनुपर्छ, समाजभन्दा फरक कुनैपनि मानिस हुन सक्दैन, तर समाजमा बुझेकाले अरूले भन्दा केही बढी योगदान गर्नुपर्छ, केही फरक काम गर्नुपर्छ, अबको हाम्रो यात्रा समाज परिवर्तनको यात्रा हो’, उनले भने ।
भूतपूर्व सैनिक र प्रहरी जहिले खुसी हुन्छ त्यति बेला मात्र आफू खुसी हुने पाण्डेले बताए । भूतपूर्व सैनिक र प्रहरीको अप्ठेरोका विरुद्ध लड्नका लागि आफू नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्ष भएको पाण्डेले बताए । ‘तपाईँहरूको जिम्मा म लिन्छु, हाम्रो संगठनले लिन्छ, म कुनै पनि सिपाहीको आँखामा आँसु देख्न सक्दिन’, पाण्डेले भने ।
अहिले समाज विकृतितर्फ गएको बताउँदै पाण्डेले जसले नराम्रो बोल्यो, नराम्रो लेख्यो उही ठुलो हुने स्थिति बनेको बताए । ‘जसले मुन्द्रा लगाएको छ, त्यही ठुलो मान्छे हुन्छ, कुनै विषयमा विद्यावारिधि गरेको मान्छे बोल्न नसक्ने अवस्थामा छ, अहिले समाजको चरित्र यस्तो भएको छ’, उनले भने ।
जुन देशमा सुरक्षा बलियो छ त्यही देश सबैभन्दा बलियो हुने पाण्डेले बताए । नेपाललाई पनि बलियो देश बनाउन देशको सुरक्षा व्यवस्था बलियो बनाउनु पर्ने उनले धारणा राखे । ‘देश बनाउन गाह्रो छ, हामीले धेरै पसिना बगाउनु पर्ने छ’, उने भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here