रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा हुने ‘चौथो चन्द्रपुर महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
‘कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार’ मुल नाराका साथ प्रादेशिक औद्योगिक मेला तथा चौथो चन्द्रपुर महोत्सव २०८१ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
चन्द्रपुर ४ स्थित तुलसीलाल आमात्य स्मृती रंगशालामा हुने महोत्सवको बारेमा आयोजक चन्द्रपुर नगर उद्योग वाणिज्य संघ रौतहटले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
फागुन ५ गते बाट सुरु हुने उक्त महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यवसायिक प्रदर्शनी र विक्री स्टललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री बाल उद्यान समेत रहने चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बताए ।
उनका अनुसार बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाईटका कामहरु सम्पन्न भइ सकेको छ । चन्द्रपुर महोत्सवमा एकसय १५ स्टल रहने र सो मध्ये आधा बुकिङ भइसकेका र अरु स्टलहरु बुकिङ प्रक्रियामा रहेको उनले जानकारी दिए ।
मेलामा एक सयको टिकट शुल्क रहेको हुँदा प्रवेश शुल्क तिरेर प्रवेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
मेलामा काटेको टिकटको अर्धकट्टी देखाएर भरत ताल स्थित बागमती इन्टरटेन्मेन्ट प्रालि बागमती भरत तालको टिकट खरिद गर्दा ५० प्रतिशत छुट हुनेछ भने फागुन महिना भित्रमा भरत ताल पुगेर लिने टिकटमा २५ प्रतिशत छुट हुने समेत बताइएको छ ।
चन्द्रपुर महोत्सव फागुन ५ गते देखि १७ गते सम्म रहने आयोजकले जानकारी दिएको छ । ‘घुमांै मधेश बुझौं मधेश भन्ने नारालाई समेत महोत्सवले प्राथमिकता दिएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जनाएको छ ।






