युरोपमा ज्ञान–सीप सिकें, नेपालमा २१ सयलाई जागिर दिलाएँ ः लोकराज शर्मा
लोकराज शर्मा
सामाजिक उद्यमी

उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइँन् । पहिलेका धेरै समस्या र कठिनाइहरु पार गर्दै, आइपर्ने समस्याहरु समाधान गर्दै, कठोर मेहेनत र आइपर्ने चुनौतिहरुलाई पार गर्दै यहाँसम्म आइपुगेको हुँ । पढाइकै कुरा गर्ने हो भने कक्षा ८ सम्म जुम्लामै पढें । ९ र १० पढ्ने समयमा मुलुकमा चर्को द्वन्द्व थियो । जुम्लामा रहँदा पढाइमा बाधा पर्छ कि भनेर काठमाडौं आएँ । जुम्लाको मान्छे काठमाडौंमा स्कूल भर्ना हुँदा थुप्रै समस्याहरु आए । पछि शान्ति शिक्षा स्कुलले जुम्लाको केटो भनेर भर्ना लियो ।
पढाइ कमजोर थिएन् । त्यस बखत हाजिरी जवाफ प्रतियोगितामा प्रथम पटक विद्यालय मेरै कारणले सहभागिता जनायो । हामीले पुरस्कार जित्यौं । समय वित्दै गयो । विद्यालय शिक्षा पार गरेर उच्च शिक्षामा सिभिल इन्जिनियरिङको कोर्ष रोजें । तत्कालको कोर्ष पूरा गरेर त्यसपछि म विदेश गएँ । त्यहाँको बिजनेश स्कुलमा पढ्दापढ्दै टप गरें । स्कलरसिपमा इन्टरनेशनल बिजनेश स्कुल पढ्न पाएँ । सबै विषयहरुमा उत्कृष्ट अंकहरु ल्याएकाले स्टडी कोचका रुपमा काम गर्ने अवसर मिल्यो । काम गर्दै पढ्न थालें । पढ्दापढ्दै पढाउन पनि थालें । डेनमार्कबाट स्नाकोत्तर पूरा गरेको हुँ । अहिले पनि विद्यार्थी नै छु । इटालीबाट पिएचडी गरिरहेको छु ।
डेनमार्कमा मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । त्यसकारण उत्कृष्ट नम्बरहरु पनि आयो र आर्थिक रुपमा सर्पोट पनि भयो । र केही पैसा कलेजबाट पनि आउन थाल्यो । सबै कुरा ठिक हुँदै थियो । अलिअलि पैसा जम्मा हुन थालेकाले विस्तारै मैले पढाईसँगै बिजनेश सुरु गरें । पढाइ चल्दै नै थियो बिजनेश सुरु गरिसकेको थिएँ । सन् २००८ तिर नै साना स्तरको व्यवसाय आफ्नो नाममा दर्ता गरें । विस्तारै आइटीमा व्यवसाय तिर पनिसुरु गरें । व्यवसायसँगै कलेजमा पढाउने काम पनि गर्थें । र आफू पनि पढ्थे । यसरी तीन चारवटा कामहरु लगातार चलि नै रहन्थ्यो । कहिले १७–१८ घण्टासम्म खटेर काम गरिरहेको छु । निरन्तरको संघर्ष र मेहेनतले म विस्तारै यसरी आर्थिक र शैक्षिक हिसावले स्थापित हुँदै गएँ ।
आर्थिक र शैक्षिक रुपमा सक्षम हुँदै गएकाले जीवनमा पछिसम्म सम्झने काम गर्ने इच्छाहरु पलाउन थाले । एक बारको जीवनमा दुःख देखेर र भोगेको व्यक्ति भएकाले केही न केही गर्नुपर्छ भन्ने सोच आयो । त्यो पनि आफू जन्मेकै ठाउँमा गरौैं भन्ने लागिरहन्थ्यो । त्यही भएर विदेशमै बसेर पनि नेपालमा हामीले विभिन्न क्षेत्रमा सामूहिक लगानीमा केही काम गरेका थियौं । तर त्यो सामूहिक लगानी प्रतिफलमूखी भएन । विदेशमा बसेर नेपालमा सामुहिक लगानी गर्दा राम्रोसँग काम हुन सकेन् ।
नेपालमा विग मार्ट खुल्नुअघि नै हामीले इजी मार्ट सुरु गरेका थियौं । तर धेरै समस्याहरु भोग्यौं । र सफल पनि भएनौं । विदेशमा बसेर यहाँ मोनिटरिङ हुन सकेन । त्यसपछि नेपालमै बसेर केही काम गरौं भन्ने सोच बनिरहँदा डेनमार्ककै एउटा कम्पनीमा डाइरेक्टरका रुपमा काम गर्ने अवसर मिल्यो । त्यहाँ राम्रा मान्छेहरु हुनुहुन्थ्यो । जहाँ राम्रा राम्रा कुराहरु सिक्ने अवसर मिल्यो । मेरो आइटी व्यवसाय भएका कारणले विभिन्न आइटी व्यवसायीहरुसँग समन्वय हुन थाल्यो । धेरै ठाउँका राम्रा आइटी र फाइनान्ससँग सम्बन्धित व्यक्तिहरुसँग सहकार्य गर्न पाएँ । जसमा आइटीकै प्रयोगबाट सिर्जनात्मक कामहरु गर्ने सहयोग मिल्यो । जस कारणले गर्दा नेपालमै बिजनेश गर्ने वातावरण सिर्जना भयो ।
यतिबेला नेपालमा आफैंले स्थापना गरेका कम्पनीहरुमा लगभग २१ सय जनाले रोजगारी पाएका छन् । तर केही कम्पनी विक्री भएकाले रोजगारी गर्नेको संख्या केही कम भएको होला । गृह जिल्लालाई जोड्नका लागि लघुवित्तले ठूलो सहयोगीको भूमिका खेलेको छ । मलाई धेरैले माइक्रो फाइनान्सकै माध्यमबाट चिन्ने गरेका छन् ।
अन्यतिर पनि लगानी बढाएको छु । गृह जिल्लासँगको सम्बन्ध जोड्ने काम एक लघुवित्त र अर्को काठ उद्योग हो । त्यसअघि मैंले त्यहाँ बच्चा हुँदा नै युवा क्लव खडा गरेको थिएँ । त्यसले समाजसेवा गर्न अवसर सिर्जना गरायो । ६–७ कक्षा पढ्दादेखि नै खडा गरेको युवा क्लवमा अंकल साइनो लाएर बोलाउनुपर्ने व्यक्तिहरु सदस्य बस्नुभयो । धेरै उमेर ग्याप भएकाले म निर्माता र अन्य एकजनालाई अध्यक्ष राखेको थियौं । उहाँ क्षमतावान नै हुनुहुन्थ्यो । क्लब अझैपनि सञ्चालनमा छ । क्लबबाटै पुल, बाटो, मन्दिर बनाएका छौं । म १२–१३ वर्षको उमेरकै गरेको यो ऐतिहासिक थियो मेरो । अझै स्मरणमा छ । यो विगतको कुरा भयो ।
पछि काठको कारखाना खोलेपछि धेरैले रोजगारी पाउनुभएको छ । एक पटक कारखानामा पुग्दा एकजोडी महिला र पुरुष आएर मेरो अगाडि धेरैबेर रुनुभयो । किन रुनुभएको भन्दा काराखानामा काम गर्नुअघि गिटी कुटेर महिनाको चारदेखि आठ हजार रुपैंयाँसम्म कमाउनु हुँदोरहेछ । काठ उद्योगमा काम पाएपछि मासिक ७० हजार सम्मको आम्दानी हासिल गरेपछि खुसीले रुनुभएको रहेछ । यसले मलाई खुवै खुशी तुल्यायो । किन खुसी मिल्यो भने मेरो व्यवसाय मात्र भन्दा पनि कसैको जीवन नै परिवर्तन ल्याइरहेको रहेछ । त्यसैले मैंले आफूले आफंैलाई चिनाउनुपर्दा म उद्यमी भन्दापनि सामाजिक उद्यमी भन्न रुचाउँछु । जतिपनि मेरो व्यवसाय छ, फाइदाका लागि मात्र छैन् । सामाजिक योगदानको लागि पनि छ ।
तर जुम्लाको प्रसंगमा अरु सिर्जनात्मक कामहरु गर्न खोजिरहेको छु तर सकिरहेको छैन् । काठ उद्योग, युवा क्लव र लघुवित्तका माध्यमबाट गाउँसँग जोडिएको छु । लघुवित्तको शाखा खोलेर हजारौं गाउँलेहरुका निम्ति योगदान गरिरहेको छु । विना धितो कर्जा दिएर सेवा गरिरहेको छु । समूह बनाउने, तालीम दिने र उद्यमी बनाउने कामहरु भइरहेका छन् । आर्थिक पहुँचमा बृद्धि गराउने काम भइरहेको छ ।
त्यसमाथि हामीले स्थापना गरेको मातृभूमि लघुवित्त एउटा यस्तो संस्था हो जसले राष्ट्रबैंकले क्याप ल्याउनुभन्दा पहिले १५ प्रतिशतको क्याप ल्याउनुभन्दा पहिला १५ प्रतिशत भन्दा बढी चार्ज कहिल्यै गरेनौं । कुनै जमानामा हाम्रो कष्ट अफ फण्ड १६ प्रतिशत थियो । तर हामीले १५ प्रतिशतमा दिइरहेको थियौं ।
मैंले डाटा लिएको त छैन् तर आम रुपमा बुझ्दा लघुवित्त भनेको ग्रामीण अर्थतन्त्रको यस्तो ठूलो माध्यम हो जसले आम गाउँबासीको जीवनमा पुरै परिवर्तन ल्याइदिन्छ । कामगर्दै गयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पस्केका छौं । मेरो जीवनको मन्त्र नै इमान्दार र मेहेनत हो । म अहिले पनि १८ घण्टा, कहिले काही रातभर नसुतेर काम पनि गर्छु । इमान्दारिताका साथ खट्न सक्नुपर्छ । इमान्दारिता र मेहेनत जोसँग छ उसले संसार जित्न सक्छ जस्तो लाग्छ र हरेक जनताले त्यो मन्त्र अपनाउनुपर्छ । यो भयो भने राज्य, संस्था र क्षेत्र सफल बन्न धेरै समय लाग्दैँन् । कुनै नयाँ संस्था वा ओरालो लागेको संस्थालाई माथि उठाउन अठोट र मेहेनतका साथ काम गर्यो भने सफलता मिल्छ भन्ने उदाहरण हामीले देखाइरहेका छौं ।(विभिन्न आइटी एवम काठ उद्योगका संचालक एवम मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लोकराज शर्मासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here