लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले मधेश आन्दोलनमा ज्यान गुमाएका ज्ञात, अज्ञात सहिदहरुलाई श्रद्धाञ्जली दिनको लागि बलिदानी दिवसको रुपमा मनाइरहेको बताएका छन् । शनिबार काठमाडौंमा १८ औं बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आन्दोलनमा ज्यान गुमाएका सहिदहरुबाट प्रेरणा लिनको लागि आजको दिनलाई बलिदानी दिवसको रुपमा मनाइ रहेका बताए । उनले भने, ‘मधेश आन्दोलनमा धेरैले आफ्नो ज्यान गुमाएका थिए । कतिको लास पनि पाएका थिएनौं । त्यो आन्दोलनमा ज्यान गुमाउनुहुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्नको लागि आजको दिनलाई शक्तिमा रुपान्तरण गर्नको लागि, सहिदहरुबाट प्रेरणा लिनको लागि बलिदानी दिवसको रुपमा मनाइ रहेका छौ ।’ यसको साथै, उनले अहिलेको गठबन्धन सरकारले संविधानलाई अगाडि बढाउने हो भने यसलाई संशोधन गर्नुपर्छ भन्ने कुरा बुझेको भन्दै अब आफूले चाहेको जस्तो संघीयता आउने विश्वास व्यक्त गरे । उनले भने, ‘अधिकार सम्पन्न संघीयता ल्याउने हाम्रो जुन संकल्प थियो । त्यसमा संकुचन ल्याएर स्थानीय र केन्द्रीय सरकारलाई बलियो बनाएर संघीयता सम्पन्न हुन नसक्ने अवस्था बनाएको थियो । तर अहिलेको गठबन्धनको सरकारले संविधानलाई अगाडि बढाउने हो भने यसलाई संशोधन गर्नुपर्छ भनेर बुझेको छ ।’ अर्का नेता मनिष मिश्रले नेपाललाई समावेशी राष्ट्र बनाउन जरुरी रहेकाले अल्पसंख्यक वा न्यून जनसंख्या भएका नागरिकहरुले समान अधिकार पाउनुपर्ने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here