शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् ।
बिहिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताइन् ।
उनले भनिन्, ‘अर्को कुरा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सन्दर्भमा स्वास्थ्यमन्त्रीले अस्ती बोल्नु भएको कुराले थोरै विवाद आएको जस्तो लाग्छ तर उहाँको आँखाले देखि सकेपछि एउटा भाव व्यक्त गर्नु भएको हो तर मलाई के लाग्छ भने स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता जनाएको पनि हो । सबैले आवश्यक छ भनेको विश्वविद्यालय निर्माण गरेर जाउ ।’
यसको साथै, उनले लामो समयदेखि बैठक र सभा हुन नसकेको सिटिइभिटिको दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताईन् ।
उनले भनिन्, ‘६९ सालदेखि काम हुन नसकेको सिटिइभिटिको परिषद्को बैठक म जाँदा ११ महिनादेखि बसेको थिएन् । सिटिइभिटिको सभा भनेर ८ वर्षदेखि बसेको थिएन्, जसले नीति गत निर्णय गर्नुपर्ने थियो, मैले सभा र बैठक दुवै राखि सकेपछि एक ढङ्गले त्यसलाई नियमित गर्ने प्रयास गर्दै छु । लामो समयदेखि वेतिथिमा रहेको ठाँउलाई बनाउन समय लाग्छ । त्यसकारण आजै यो किन भएन भनेर भनि राख्दा त्यसलाई बनाउनु गर्नुपर्ने प्रयत्नहरु अझै बाँकी छन् । त्यसैले हामीले आज समितिले दिएको सबै निर्देशनलाई पालना गर्ने दायित्व सरकारको हो । गर्नुपर्छ तर त्यसको लागि हुने कानूनी जटिलता र प्रक्रियाहरु फुकाउनु पर्ने हुदाँ त्यो फुकाउनको लागि केही समय लाग्ने हुदाँ यस वर्ष तपाईले भन्नु भएको सबै काम गर्नको लागि अर्को क्यालिन्डर पर्खिनु पर्ने कुरा अनुरोध गर्न चहान्छु ।’
यसको साथै समिति सभापति अम्मर बहादुर थापाले समितिबाट निर्देशन भएर गएको विषयको प्रगतीबारे अनिवार्य रुपमा जानकारी गराउनु पर्ने बताए ।
उनले भने, ‘जे कुराको समितिले निर्णय गरेर पठाउछु । त्यो कुराहरुको के कस्तो प्रगती भएको छ, छैन् वा गर्दै छौ भन्ने कुराको पनि जानकारी समितिमा आउनु पर्छ । यो मन्त्रीज्यूलाई एउटा मेरो आग्रह छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here