राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्यतथ्य हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमिति पद हस्तान्तरण समारोहमा बोल्दै उनले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्ठि हुने बताएका हुन् ।
उनले भने ,‘बिग हाउसका कतिपय समाचारहरु हामी सबै सुन्ने गर्छौं। समाचार सुनिसकेपछि एउटा धारणा बनाउँछौं । त्यो बेला पत्रकारले दिने समाचार सत्य र तथ्य कतिको हुन्छ, समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्य र तथ्य कतिको हुनुपर्छ भन्ने कुरा पनि ध्यान दिन उत्तिकै जरुरी हुन्छ । पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्टि हुन्छ ।’ साथै उनले पत्रकारिता क्षेत्रलाई जवाफदेही बनाउन आफू सधैं प्रतिवद्ध रहने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारितालाई व्यवसायी र जवाफदेही बनाउन सके मात्र पत्रकार महासंघका नेतृत्व र महासंघ सफल हुने बताएकी छन् । उनले पत्रकारको सीप विकासको लागि राज्यले लगानी गर्नुपर्ने बताएकी हुन् ।
साथै उनले पत्रकार जगत भनेको जहिले पनि राज्यलाई र गैरराज्यलाई प्रश्न गर्ने पेशा भएको बताइन् । उनले पत्रकारले सधैंभरी जो अन्यायमा परेको छ, जसका समस्याहरु सुनिँदैनन् त्यसको लागि प्रश्न गर्नु पत्रकारको दायित्व भएको बताइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here