कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज(आइतबार) स्थापना दिवस मनाएको छ । नेपाल बार एशोसिएशनले आइतबार ६९ औं बार दिवस मनाएको हो ।‘जनताले न्याय पाउनुपर्छ’भन्ने विषयमा नेपाल बार एसोसिएसन केन्द्रित रहेको एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए ।‘नेपाल बार एसोसिएसनले निरंकुश व्यवस्थाका लागि लड्यो । अन्य थुप्रै न्यायिक सुधारका मुद्दाहरुमा बार एसोसिएसन लडिरहेको छ । बार एसोसिएसन अहिले पनि त्यहीँ अभियानमा छ,’ अध्यक्ष घिमिरेले भने, ‘हामी मुलुकका बेथितिका विषयमा बोल्छौं । विशेषगरी जनताले न्याय प्राप्त गर्नुपर्छ भन्ने विषयमा हाम्रो फोकस रहनेछ ।’
अध्यक्ष घिमिरेले सबै मिलेर न्यायिक सुधार गर्न सकिने पनि बताए । उनले भने, ‘हामी सबै मिलेर न्यायिक सुधार गर्न सक्छौं । एक्लै कसैको पनि सामथ्र्य छैन ।’
२०१२ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनले वकिलहरूको हकहित संरक्षण, कानूनी पेशाको स्तरोन्नति, र नागरिकहरूको न्यायमा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।







