यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफूहरु डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएकी निर्मला शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा आफू सक्षम भएको दावी गरिन्
उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुर्याउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रुपमा भूमिका खेलेको पनि बताइन ।
उनले पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथी कुन्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउ समेत परेको बताइन् ।
उनले भनिन् , ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० बर्षदेखि लगातार आवद्घ छु । मिडियामा श्रम गरिरहेको छु । त्यसैगरी पत्रकार महासंघलाई यो ठाउँमा पुर्याउनको लागि धेरै योगदान गरेको छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनको सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्दा आफू डटेर लागेको हुँ ।’
साथै उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसंग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर भएको सच्चा श्रमजीवि पत्रकार भएको बताइन् ।
त्यस्तै, महासचिवका उम्मेदवार रामप्रसाद दाहालले पत्रकार महासंघ नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीव पत्रकारको अविभावकत्व लिने संस्था एवम लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको गरिमा जोगाउन आफू मैदानमा उत्रिएको बताए ।
‘मुलुकलाई कहिंकतैबाट अप्ठ्यारो प¥यो या मिडियाको उपभोक्ताहरु नागरिकको अधिकार खोस्ने कतै प्रयास भयो भने यसले डटेर सामना गर्ने नागरिक अगुवा संस्था हो । तर पछिल्लो समय संस्थामाथि वा गरिमामा प्रश्नहरु उठ्न थालेका छन् । ती प्रश्नहरुको निवारणका लागि राम्रो नेतृत्व आवश्यक छ,’ उनले अगाडि भने,‘अहिले विभिन्न तहका सरकारले आफुखुसी नीति नियम बनाउन थालेका छन् । प्रेस स्वतन्त्रलाई संकुचन गर्ने खालका कानुन बनाउने काम भइरहेको छ । त्यसलाई धेरै ठूलो शक्तिले मात्र चिर्न सक्छ । त्यसको लागि नै उम्मेद्वारी हो ।’
रातोपाटी डटकमका सम्पादक समेत रहेका दाहालले आफू डेढ दशक बढी मिडिया आन्दोलनमा होमिएको र श्रमजीविका मुद्दाहरुमा नयाँ नजिर स्थापित गरेको व्यक्ति भएकाले महासंघलाई अन्तर्राष्ट्रिय ट्रेन्डमा हिडाउन चाहेको उल्लेख गरे ।
दाहालले नेपालमा नयाँ मिडियाका कारणले पनि मिडियाको अवस्था दयनीय भएको जनाउँदै त्यसका लागि नीतिगत व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गरे । ‘नयाँ मिडियाका कारण विभिन्न चुनौतीहरु देखिएका छन् । त्यसैले अब स्मार्ट महासंघ आवश्यक छ,’ उनले भने ।
समयमै महाधिवेशन नहुँदा र विधि विधान अनुसार नचल्दा पत्रकार महासंघमाथि अनास्था बढेको उनको भनाइ छ । ‘समयमै अधिवेशन भएन । संस्थाको गरिमा खस्कियो । त्यसैले अब महासंघलाई विधि विधानतर्फ फर्काउने बेला आएको छ । यसका लागि आफू योग्य छु जस्तो लाग्छ,’ उनले भने, ‘म सम्भावनाहरुमा टेकेर चुनौतीहरु पार गर्न सकिन्छ भन्नेमा कटिबद्ध छु । पत्रकारिताको राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रेन्डसँगै महासंघलाई लैजाने बेला भएको छ । यसकै लागि मेरो उम्मेदवारी हो । देशभरका श्रमजीवि पत्रकारहरु खुशी हुनेगरी काम गर्ने विश्वास दिलाउँछु ।’
नेपाल पत्रकार महासंघको २७ औं निर्वाचनमार्फत नयाँ नेतृत्वका लागि दुईवटा समूह मैदानमा छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलमा शर्माले नेतृत्व गरेकी छन् भने । रमेश विष्टको नेतृत्वमा अर्को प्यानल मैदानमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here