जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको बताएका छन् ।बस्नेतले पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका अधिकांश शीर्ष नेताहरु पार्टीको तर्फबाट उम्मेदवारी रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएर प्रचार प्रसार र घरदैलो कार्यक्रम गर्ने काम गरिएको र यस दौरानमा जनतासँगको साक्षात्कारको अनुभवबाट उपनिर्वाचनको परिणाम सकारात्मक हुने बताएका हुन् । ‘पार्टीले उपनिर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रलाई राम्रोसँग बुझेका व्यक्तिलाई उम्मेदवार चयन गरेको छ । अर्कोतिर जनाधारको अवस्था हेरीकन उम्मेदवारी दिइएको छ । पार्टीले भदौदेखि सुरु गरेको जनतासँग जसपा नेपालको चार महिने संगठन निर्माण अभियानले उपनिर्वाचनलाई राम्रै सहयोग पुर्याएको छ । तयारीका साथ पार्टी उपनिर्वाचनमा होमिएका छ । निर्वाचन क्षेत्रका जनताले पत्याएका व्यक्ति नै उम्मेदवार भएका कारण हामीले उपनिर्वाचनबाट राम्रो आशा गरेका छौं,’ बस्नेतले भने ।उनले पार्टीको संगठनलाई मध्यनजर राख्दै पार्टीको शक्तिलाई एकत्रित गरी परिणाम निकाल्न सकिने गरी खास खास स्थानमा उम्मेदवारी दिइएको बताएका छन् ।जसपा नेपालले उपनिर्वाचनमा विभिन्न १२ स्थानमा उम्मेदवारी दिएको छ । पार्टीले किर्तिपुरको नगरप्रमुखका लागि र मोरङको ग्रामथान गाँउपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएको छ ।जसपा नेपालले बाँकी दशस्थानका लागि दिइएको उम्मेदवारी वडा अध्यक्ष पदको लागि रहेको छ । जसअनुसार ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५ को अध्यक्ष, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को अध्यक्ष, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्ष र महोत्तरीको रामगोपालपुर वडा नं २ को अध्यक्ष पदको लागि उम्मेदवारी दिएको छ ।त्यसैगरी पार्टीको तर्फबाट रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ को अध्यक्ष, रौतहट गढीमाई नगरपालिका वडा नं ८ को अध्यक्ष, किर्तिपुर नगरपालिका वडा नं ४ को अध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नं १२ को अध्यक्ष र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here