नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् ।नेपाली कांग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा. महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्र निर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहेका डा. महतले समावेशितासहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

यो पुस्तक बिपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा. महतले बिपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तत्कालीन समयमा बिपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै उनले त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गरे ।

विसं २०१२ मा बिपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सार्नुभएकाले कांग्रेसले बिपीको बाटोलाई छाड्न नहुने नेता डा. महतले धारणा राखे । ‘युवालाई आर्थिक उपार्जनसँग जोडेर अगाडि बढ्नु वर्तमान समयको आवश्यकता हो’, उनले भने, ‘प्रजातान्त्रिक समाजवाद बिना आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन।’

पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उनले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here