साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो ।यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताए ।कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि सात–एक गोलले पराजित गरेको थियो ।कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भए पनि तयार रहेको उल्लेख गरिन् ।इङलिस प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्स भन्दा पनि भोलिको माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए ।फाइनलमा जारी साफमा सात गोल गरेकी रेखा पौडेल हुने छैनन् । उनले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन् ।अघिल्लो पटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई तीन–एकले हराएर च्याम्पियन बनेको थियो । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here