हिउँ चितुवाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ ।

नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचकका रुपमा लिइने भएका कारण वन तथा वातावरण मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गरेर ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै बन तथा वातावरण मन्त्रालयका सचिव दीपक कुमार खरालले हिउँ चितुवाले हाम्रो देशको इको सिस्टम कति स्वस्थ छ भन्ने परिचय दिइरहने उल्लेख गर्दै यसको संरक्षण अपरिहार्य रहेको बताए ।

उनले नेपालमा थोरै संख्यामा हिउँ चितुवाहरु रहेको उल्लेख गर्दै भविष्यमा लोप हुन नदिन र हिउँ चितुवाको संख्या बढाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हिउँ चितुवाले हाम्रो इको सिस्टम कति स्वस्थ छ भन्नेबारे परिचय दिन्छ । तर नेपालमा हिउँ चितुवाको लागि आवश्यक पर्यावरणमा परिरहेको असरबारे समेत ध्यान दिन जरुरी छ । नेपालमा थोरै संख्यामा हिउँ चितुवाहरु छन् । तर भविष्यमा यसको दिगोपना नहुने समस्या पनि उत्तिकै छ ।’

हिउँ चितुवाको संरक्षण सरकारको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सचिव खरालले सारोकारवाला सबै निकायले समन्वय र सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।

‘हिउँ चितुवाको संरक्षण सरकारको प्रयासबाट मात्र सम्भव हुने स्थिति छैन । यसमा अहिले पनि विभाग र मन्त्रालय बाहेकका सरोकारवाला सबैले एक्यबद्धता जनाएर कार्यक्रमहरु बनाएर काम गर्नुपर्ने आवश्यकता छ । हिउँ चितुवाको संरक्षणका लागि योगदान पुर्याइरहनुभएका स्थानीय तहहरुसँग आवश्यक अन्तरक्रिया गरेर अगाडि बढ्नु सरकारको कर्तव्य हो ।’ उनको भनाइ थियो ।

यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here