नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ ।
नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो ।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो । विश्वकप भने आगामी सन् २०२५ मा चीनकै डालियन सहरमा हुँदैछ ।
यसै विश्वकप छनौट चरणका लागि नेपालको विश्वविद्यालय फुटबल टोलीको आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आइतबार थापागाउँमा आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई बिदाई गरिएको हो ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद्का बागमती प्रदेशका सदस्य सचिव दीपक लामा र विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलले नेपाली टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै बिदाई गरे ।
सो अवसरमा राखेपका पूर्वकोषाध्यक्ष शैलेष कर्माचार्य, विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोरा, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्री महर्जनले २० देखि २८ वर्ष उमेरका युवा खेलाडीले नै अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्ने भए पनि यो उमेरमा युवा विश्वविद्यालयमा उच्च शिक्षा हुने भएकाले विश्वविद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले शैद्धान्तिक रुपमा खेललाई पाठ्यक्रममा नै समावेश गरेर अगाडि बढाउन सके खेलकुदको विकास सम्भव हुने बताए । यो छनोट प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । १६ खेलाडी र तीन अफिसियल गरी १९ सदस्यीय नेपाली टोली आइतबार नै चीन प्रस्थान जानेछन् ।
सन्तोष दहालको कप्तानीमा रहेको नेपाली टोलीमा खेलाडीहरू चक्रराज बिडारी, नवीन न्यौपाने, दीपेश खड्का क्षेत्री, आशित थपलिया, हितेश पाण्डे, रुपेन्द्र फुयाल, सरोज उप्रेती, दिगम खड्का, रोशन खड्का, रामकृष्ण खत्री, सरोज गिरी, सारंश भट्टराई, सन्जोग पोखरेल, मनीष पौडेल र सन्जु तामाङ छन् ।
टिम प्रशिक्षकमा अरबिन कोइराला, हेड अफ डेलिगेसन अशोक श्रेष्ठ र टिम म्यानेजर एकेन्द्र मल्ल पनि टोलीसँगै चीन जाँदैछन् । त्रिभुवन विश्वद्यालय (टियु)ले आयोजनामा भएको बिबिए कपमा च्याम्पियन र उपविजेता टिमका खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here