काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तकालय खोल्ने काम सजिलो नभएको बताएका छन् । शनिबार गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ को लोकार्पण गर्दै थापाले पुस्तकालय बनाउने कुरामा कति धेरै गाह्रो हुन्छ भन्ने कुरा पार्टी कार्यालयमा बनेपछि मात्र महशुस गर्न पाएको बताएका हुन् ।उनले भने, ‘गोदावरीको ठाउँमा पुस्तकालय खोल्ने कुरा सम्भव किन भएको हो भने यो ललितपुरमै सबैभन्दा बढी लेखपढ गरेका र शिक्षित मानिसहरु बसेको ठाउँ हो भनेर भन्ने गरिन्छ । यस्तो पृष्ठभूमि नभएको भए यहाँका अग्रजहरुले त्यस्तो वातावरण नबनाइदिएको भए, चिन्तन नगरेको भए यस्तो नतिजा आउने थिएन् । पुस्तकालय खोल्ने सजिलो काम होइन । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा भर्खर हामीले पुस्तकालय निर्माण गर्ने काम सम्पन्न गरेका छौं । अझै केही कामहरु बाँकी रहेका छन् । पुस्तकालय बनाउन कति गाह्रो हुँदोरहेछ भन्ने कुरा मैले बल्ल महसुश गर्न पाएको छु ।’कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले नेपालमा पुस्तकालय खोल्ने लहरले पठन संस्कृतिमा विकास भएको बताए । ‘पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेपछि, स–साना राज्यहरु जित्दै जित्दै गएपछि, हातैले लेखेका ध्वजापत्र एवम दस्तावेज लेखेका कागजहरु हुन्थे । ति कागजहरु च्यात्नु हुन्न, नासिनु हुन्न त्यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने चेतना थियो । युद्द जित्दै गएपछि सबै कागजहरु बटुलेरराख्दै गएको पाइन्छ,’ उनले भने ।सोही क्रमबाट अहिले धेरै प्रकारका पुस्तकालयहरु स्थापना भइसकेको उनको भनाइ थियो । स्कुल, क्याम्पस, सरकारी कार्यालय वा सामूदायिक स्तरबाट पुस्तकालय खोल्ने परम्परा रहेको उनले बताए । कार्यक्रममा वागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जनताको आकाक्षा धेरै भएकाले पुरा गर्नुपर्ने आफूहरुको दायित्व रहेको बताए ।नगर प्रमुख गजेन्द्र महर्जनले नगरपालिका स्थापित पुस्तकालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने बताए । उनले पुस्तकायल नगरभित्रकै गौरव रहेकाले बार्षीक बजेट व्यवस्थापन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पुरुषोत्तम आचार्य, वडाध्यक्ष सानोभाई पहरीलगायतको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here