रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेका किसानहरू व्यवसायीक मेवा खेतीपछि मेवालगायतका फलफूलको जुस उत्पादनको अभियानमा जुटेका छन् ।गागलको टीएमजी एग्रो समूहका २० जना किसान सो अभियानमा लागेका हुन् । अभियानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले सहयोग गरेको छ ।आयोजनाले १ करोड ४ लाख ८१ हजारको योजना सञ्चालनको लागि किसानहरूलाई ३९ लाख ९९ हजार अनुदान सहयोग गर्ने भएको छ ।किसानले लगाएको मेवालगायतका फलफूल प्रशोधन भवन निर्माण, उपकरण खरिद, थोपा सिँचाइ र मेवा रोप्नको लागि आयोजनाले सहयोग गर्न लागेको हो ।स्थानीय २० जना किसान मिलेर खाँडादेवी–८ को गागालका साथै उदयपुरको कटारी, काभ्रेको पाँचखाल तथा दाङमा समेत सोही समूहमार्फत मेवा खेती लगाएका छन् ।अहिले गागलमा ३५ रोपनी बढी जमिनमा मेवा खेती भइरहेको छ । यस वर्ष सो क्षेत्रमा थप बिरुवा पनि लगाइएको छ ।त्यस्तै कटारीमा १५ रोपनी, पाँचखालमा १४ रोपनी र दाङमा २) रोपनी जमिनमा मेवा लगाइएको छ । पाँचखालमा खेतीको क्षेत्रफल बढाएर १ सय ५) रोपनीमा लगाउने तयारी भइरहेको समूहका सदस्य विजयकुमार लामाले बताए ।मेवा प्रशोधनको लागि भवन निर्माणको काम सुरु भइसकेको छ । निर्माणको काम सकिने बित्तिकै प्रशोधन गर्ने मेसिन जोडेर जुस उत्पादनको काम सुरु हुनेछ ।गागलमा पहिलो पटक दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका जनकलाल तामाङले व्यावसायिक रूपमा मेवा खेती सुरु गरेका थिए । तामाङले लगाएको मेवाबाट राम्रो उत्पादन भएपछि अन्य स्थानीय पनि त्यसमा आकर्षित भएका हुन् ।








