काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एक वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै इन्टर्नसीपको व्यवस्था गरेमा दक्ष युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने एशोसिएशनको सुझाव छ ।त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नका निम्ति मापदण्ड तोकिनुपर्ने, मापदण्डविपरीत रहेका कलेजहरुलाई कालो सूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कारबाही गरिनुपर्ने उनीहरुको माग छ ।साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति छ महिना इन्र्टनसीप गर्नैपर्ने व्यवस्था संशोधन हुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने र परीक्षाको प्रश्नपत्रमा एकरुपता हुनुपर्ने एशोसिएशनको माग छ ।नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा.नवीन यादवले आफूहरुको माग सम्बोधन गर्ने सन्दर्भमा सरकार संवेदनशील नदेखिए चररणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए । कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको आन्दोलनका कारण आफूहरु नेपाल फर्किन बाध्य भएको उनले सुनाए ।बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आफूहरुले यी मागहरु अगाडि सारेको उनले बताए । अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसीपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्ने माग गर्दै मेडिकल काउन्सिलमा जाँदा अपमानित हुनुपरेको बताए ।त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशको मेडिकल शिक्षाको सन्दर्भमा पर्याप्त बहस नै नभएको बताए । यस विषयमा नेपाली पत्रकारिता जगत पनि चुकेको उनको भनाइ छ ।लाखौंलाख विद्यार्थी मेडिकल शिक्षा पढ्न जान बाध्य हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेप्लिज मेडिकल स्टुडेन्ट्सएसोसिएसन बंगलादेशले राखेको माग पूरा गर्न सरकारलाई उनले आग्रह गरे ।अहिले बंगलादेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु त्यहाँ चर्किएको आन्दोलनका कारण समस्यामा रहेको बताउँदै पत्रकार धमलाले त्यतातिर राज्यको ध्यान जान आवश्यक रहेको बताए ।‘नेपाली विद्यार्थीहरुले चीन, बंगलादेश, फिलिपिन्सलगायतका देशमा पढेर आउँदा समस्या छ । सरकारले सहयोग नै गर्दैन । मेडिकल काउन्सिलले शर्त दिन्छ । त्यो पूरा गर्न समस्या छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले अगाडि सारेको जायज र सान्दर्भिक माग पूरा गराउन सञ्चार जगत लाग्नुपर्छ,’– पत्रकार धमलाले भने ।त्यस्तै, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी स्तुती कार्कीले सरकारले इन्टर्नसीप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताईन् । ‘हामीले उहाँ इन्टर्नसीप गर्दा उतैको औषधीको नाम सिक्नुपर्छ । जुन कुरा यहाँ आएर हामीलाई नेपालमा कुनै पनि काम लाग्दैन । हामीले यहाँ नेपालमा आएर नेपालकै औषधीहरुको नाम सिक्यौंभने छिटै मेडिकल सिस्टमलाई पनि बुझ्नसक्छौं,’उनले भनिन् ।साथै, बंगलादेशमा चर्किरहेको आन्दोलनका कारण आफूहरुको पढाइ प्रभावित भएको उनले सुनाइन् । अहिले पाँच वटा प्रोफेस्नल परीक्षा र इन्र्टनसीप गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसीप चाहीँ नेपालबाटै गर्न पाउनुपर्ने उनको भनाइ छ ।