काठमाडौं

अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय विदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् ।
बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपालको लागि अस्ट्रेलियन राजदूतको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई ज्ञापन गरे। सभामुख घिमिरेले नेपाल र अस्ट्रेलियाबीच यस वर्ष सम्पन्न व्यापार र लगानीसम्बन्धी सम्झौता (टिफा)को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गरे ।
नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान–प्रदान, नेपाल–अस्ट्रेलिया संसदीयमैत्री समूहको गठनलगायतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सभामुखको भनाइ थियो। उनले अस्ट्रेलिया सरकारले कोभिड–१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे।
राजदूत भोल्कले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि उच्चस्तरीय भ्रमण तथा सहयोग जारी रहने बताइन् । त्यस्तै यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेकी थिइन भने प्रधानसेनापति प्रभुराम शर्मासँग पनि विदाइ भेट गरेकी थिइन ।
भोल्कसँगको भेटमा यादवले नेपालको लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका थिए । एकसाता अघि नै नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो । उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।
सन् २०२१ मा नेपालको राजदूत नियुक्त भएकी भोल्क अस्ट्रेलियन सरकारको परराष्ट्र मामिला विभागको उच्च अधिकारी हुन्। साढे तीनवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारी गरिरहेकी छिन् ।
नेपालमा रहँदा उनले देशका विभिन्न स्थानको भ्रमण गर्दै सांस्कृतिक आदनप्रदानमा सहभागिता जनाएकी थिइन । उनले नेपाली सांस्कृतिक पोसाकमा तस्विरहरु खिचेर नेपालीहरुको मन तानेकी थिइन ।
अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरिसकेको छ । यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here