काठमाडौं
सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंको कमलादीमा संचालन भएको स्काई वाक टावर संचालनमा आएको एक वर्ष भयो ।जमिनदेखि ७८.५ मिटर अग्लो टावरमा ६५ मिटर उचाइमा सिसामाथि हिड्न सकिन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले बताए ।प्राकृतिक परिवेशको मनोरम दृश्यहरू प्रदान गर्ने स्काइ वाक पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।आगन्तुकहरूले अवलोकन डेकबाट धार्मिक तथा एतिहासिक महत्वका स्थलहरु जस्तै धरहरा, रानीपोखरी, घण्टाघर, स्वयम्भु, नारायणहिटी संग्रहालयका साथै पहाड र हिमालहरूलाई समेत नजिकैबाट अवलोकन गर्न सकिने भएका कारण आन्तरिक एवम्र बाह्य पर्यटकको प्रथम रोजाई बन्न पुगेको वन्डर्स ग्रुपका अध्यक्ष पोख्रेलले बताए ।उनले भने, ‘साहसिक खेल खेल्न चाहानेका लागि स्काई वाक उचित गन्तव्य बन्न पुगेको छ । यस स्काईवाकबाट काठमाडौंका विभिन्न रमणीय क्षेत्रहरुको अवलोकन गर्न पाइने भएकाले आकर्षण बढ्दै गइरहेको हो । स्काइ वाकमा पाँच प्रतिशत विदेशी र बाँकी ९५ प्रतिशत नेपालीहरु साहसिक स्काइ वाक गर्नका लागि आउनुहुन्छ । स्काइवाकबाट धरहरा, त्रिभुवन विमानस्थल रानी पोखरी लगायतका सुन्दर दृश्यावलोकन गर्न यहाँबाट सुन्दर देखिन्छ ।’टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको छ । टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् । स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ ।
कति छ प्रवेश शुल्क ?
स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्ने वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले बताए । सेफ्टी इक्युपमेन्टको व्यवस्थापन, कर समेत गरेर प्रतिव्याक्ति एक हजार रुपैयाँ शुल्क लिने गरेको पोख्रेलको भनाइ छ ।टावरमा प्रवेश गर्नका लागि ८० वर्षमाथिका वृद्ध र ३ फिट उचाइसम्मका बच्चाहरु शुल्क लाग्दैन । त्यस्तै, विषेश क्षमताका मानिहरुको प्रवेशमा ५० प्रतिशत छुटरहेको पोख्रेलले बताए ।