रामेछाप जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।खाँडादेवी गाउँपालिका–४ पकरबासको ८० प्रतिशत भूमिमा आफ्नै कार्यकालमा कम्तीमा तरकारी र फलफूल खेतीको लागि सिँचाइ सुविधा पुर्याउने अठोट वडाअध्यक्ष कृष्णप्रसाद पौडेलको छ ।जिल्लाकै सबैभन्दा ठुलो माडी फाँटमा बाह्रै महिना सिँचाइ हुने गरी लिफ्ट र डिप बोरिङका सिँचाइ आयोजना सञ्चालन भएका छन् भने अन्य क्षेत्रको लागि पनि विभिन्न लिफ्ट सिँचाइको आयोजना सुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।सो वडाको कल्चौँडेमा सिँचाइको लागि भटौली खोलाबाट सिँचाइ आयोजना सुरु भइसकेको उनले जानकारी दिए । त्यस्तै पुछिघाटमा पनि डिप सिँचाइको आयोजना सञ्चालन गरिएको छ ।सो वडाको सबैभन्दा महत्त्वाकाङ्क्षी योजनाको रूपमा कल्चौँडे खोक लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिएको छ । भटौली खोलाको पानीलाई तानेर गाउँका सिरानमा पुर्याई सिँचाइ गर्ने लक्ष्यका साथ सो योजना सुरु भएको छ ।हालसम्म भटौली खोलाको पानी १ हजार ५ सय ७२ मिटर माथि तानेर तित्रिबोटको २ लाख लिटरको रिजर्भ ट्याङ्कीमा खसाल्ने काम भएको छ । सुरुमा त्यहीँबाट कल्चौँडे क्षेत्रमा सिँचाइ गर्ने उद्देश्यले योजना निर्माण गरिएको भए पनि कल्चौँडेको लागि अर्को योजना सञ्चालन भएपछि अब सो योजनालाई अर्को लिफ्ट तानेर भीमशेनस्थान र त्यहाँबाट अर्को एक लिफ्ट तानेर राम्चे पुर्याई गाउँभरि सिँचाइको व्यवस्था मिलाउने योजना वडाध्यक्ष पौडेलको छ ।तित्रीबोटमा पानी झार्न संघीय सरकारको १ करोड ३ लाख रुपैयाँ खर्च भएको छ । सो आयोजनाको ४१ लाख रुपैयाँ खर्च गर्न बाँकी छ । त्यस्तै प्रदेश सरकारले वडा नं ४ र ५ को लागि भनेर यस वर्ष ८० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसबाट भीमसेनस्थान हुँदै राम्चेसम्म पानी तान्न सकिने पौडेल बताउँछन् । राम्चेमा पानी पुर्याएर वडा नं ४ र ५ का सुक्खा क्षेत्रमा वितरण गर्ने योजना उनले सुनाए ।यदि यो योजनाले पूर्णता पायो भने सुक्खा पाखामा पनि सिँचाई सुविधा पुग्ने छ र स्थानीयले फलफूल तथा तरकारीमा सुक्खा याममा पनि सिँचाई गर्न पाउने छन् ।