बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पु¥याएपछि बन्द रहेको भादगाउँ खानेपानी आयोजना नौ दिनपछि नियमित सञ्चालन भएको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप गत असार ३१ गते आएको बाढीपहिरोले बगाएको थियो । यही साउन १ गतेदेखि मर्मत थालिएकामा बुधबार काम सकिएपछि नियमित सञ्चालनमा ल्याइएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो । चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको मुख्य खानेपानीको जिआइ र एचडिपी पाइप बगाएपछि पानी आपूर्ति बन्द हुँदै आएकामा मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । असार अन्तिम साता परेको अविरल वर्षापछि गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पु¥याएपछि पानी आपूर्ति रोकिँदै आएको थियो । “संस्थाका चार कर्मचारी र बाह्य नौजना गरी कर्मचारी तथा कामदारले बाढीपहिरोले क्षति पु¥याएको पाइप मर्मतसम्भार गरेका हुन्”, उहाँले भन्नुभयो । कतिपय पाइप बाढीपहिरोले पुरिएको अवस्थामा रहेका जनाउँदै श्रेष्ठले सम्भव भएसम्म पुरिएका पाइप निकालेर पुनः प्रयोगमा ल्याइएको र केही नयाँ खरिद गरिएको जानकारी दिनुभयो । “माथि डाँडाबाट खसेको पहिरोले बगाएका कतिपय पाइप सेतीनदी किनारसम्म पुराएको थियो”, उहाँले भन्नुभयो, “जिआइ र एचडिपी गरी ५० मिटर पाइप बगाउँदा करिब रु तीन लाख बढीको क्षति भएको छ ।” लामो दूरी र भौगोलिक विकटताका कारण काम गर्न केही कठिनाइ भएकाले नियमित पानी आपूर्तिमा ढिलाइ भएको संस्थाले जनाएको छ । संस्थाले साना ठूला गरी चारवटा योजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार छ सय ८० घरमा पानी आपूर्ति गर्दै आएको थियो । खिरखाँदी मुहानको पानी प्रतिसेकेण्ड नौ लिटर क्षमता रहेको जनाउँदै आयोजना पहिरोले अवरुद्व बनाएपछि पानी वितरणमा समस्या भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । अहिले संस्थाले छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानको पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गर्दै आएको उहाँले बताउनुभयो । “दैनिक बिहान र बेलुका दुई घण्टा पानी दिने गरिएको थियो । अहिले पानीको स्रोत घटेपछि समय घटाएर वितरण गर्न थालेका थियौँ”, उहाँले भन्नुभयो, “खिरखाँदी मुहानको पानी नियमित सुचारु भएपछि आपूर्तिमा पुनः सहज भएकाले अब साविकको रूपमा पानी वितरण गरिनेछ ।” –––