सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको थियो । बैठकको कारबाही प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्रको व्यहोरा वाचन गरेर अर्को सूचना प्रकाशित नभएसम्म आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वनसम्बन्धी प्राप्त पत्रमा अधिवेशन बोलाउनुपर्ने कारण नखुलाइएकाले आज पहिलो बैठक सुरु भए पनि थप कारबाहीअघि नबढेको बताउनुभयो । कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गर्नुको कारण खुलेर आएपछि सोही बमोजिम बैठकका कारबाहीअघि बढ्ने जोशीले बताउनुभयो । केन्द्रमा समीकरण फेरिएसँगै गत असार २३ गते नेकपा (एमाले) प्रदेश सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । योसँगै गत असार १ गते प्रदेशसभामा प्रस्तुत आव २०८१÷८२ को बजेट पारित हुन सकेको छैन । कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने प्रयास गर्दा कांग्रेस, एमालेसहितका दलले प्रदेशसभाको विषेश अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिनुभएको थियो । सरकारको सिफारिसमा प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन यही साउन ४ गते प्रदेशसभाका सदस्यको माग बमोजिम प्रदेश प्रमुखले अर्को अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरी सयममै पारित गर्न ढिलाइ गरिएको, अध्यादेशमार्फत पनि बजेट नल्याइएपछि आव २०८१÷८२ सुरु भएको दिनदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने कार्य ठप्प छ । कांग्रेस, एमालेलगायत दलले प्रदेशलाई बजेट शून्यताको अवस्थामा पु¥याइएको भन्दै विरोध गर्दै आएका छन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । —