काठमाडौँ, २५ असार :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताउनुभएको छ ।आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले कतिपय पार्टी र नेताले नयाँ बन्ने सरकारका विषयमा प्रश्न उठाएको भन्दै संविधानको सीमाभन्दा बाहिर गएर कुनै कार्य नगरिने स्पष्ट पार्नुभयो । “संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको २२ धाराबाट बन्दैन । एमालेसहित होस् वा एमालेकै नेतृत्वमा सरकार बनोस्, हाम्रा आफ्नै मूल्य र मान्यता छन्, त्यहीअनुसार अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।सांसद रिजालले वर्तमान प्रधानमन्त्रीले चारपटक विश्वासको मत लिइसकेकाले यस्तो किन भइरहेको छ भन्नेबारे उहाँले नै समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान प्रधानमन्त्री गतिशील मान्छे हुँ भन्नुहुन्छ तर व्यवहार हेर्दा त्यस्तो देखिँदैन । चारपटक यही थलोबाट विश्वासको मत लिइसक्नुभएको छ । छोटो समयमै यस्तो सहयात्री दलहरूका कारणले मात्रै भएको होला कि उहाँमा पनि केही कमजोरी होलान्, समीक्षा आवश्यक छ ।”राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले लामो समय शासन गरेका ठूला दलका नेताले राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको योगदानबाहेक कुशासन पनि मौलाएको टिप्पणी गर्नुभयो । उहाँले संसद्का दुई ठूला दलबीच सत्ता सहकार्यका लागि भएको सहमतिपछि नयाँ सरकार नबनेसम्म आफूहरू सरकारमा रहेर कार्यसम्पादनमा लागिरहने बताउनुभयो ।कांग्रेस सांसद डा आरजु राणाले विगत १० वर्षदेखि नेपालका हिमताल सुक्ने क्रम बढ्दै गएका र अनियमित वर्षाले बाढी बढिरहेको बताउनुभयो । हिमताल फुट्दा पनि ठूलो विपद् आउन सक्ने उल्लेख गर्दै उहाँले जलस्रोत मन्त्रालयले दीर्घकालीन योजना बनाउन जरूरी रहेको बताउनुभयो । डा राणाले भन्नुभयो, “जलस्रोत मन्त्रालयमा अहिले वेबसाईडमा जलस्रोत शाखा छ तर त्यहाँ केही पनि तथ्याङ्क छैन । हिमतालका बारेमा अध्ययन गराउन जरूरी छ ।” भूमिसुधार मन्त्रालयले जनताको सुरक्षाका लागि व्यवस्थित बस्ती बसाउन र खेती गर्ने योजना बनाउन अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नेपालको संविधानअनुसार विश्वासको मत लिन लाग्नुभएको बताउँदै सदनको फेस गर्छु भन्नु अनैतिक नहुने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here