किमाथाङ्का (सङ्खुवासभा) ३० चैत |
गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँस वन फडानी रोक्न माग गरिएको छ । दुई वटा सामुदायिक वनमा डोजरले जथाभावी रुख ढलाइ रहेको भन्दै एक प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा ‘गुराँस वन फँडानी रोकी पाउँ’ भनि निवेदन दिएको हो ।यही चैत २८ गते बुधबार तीनजुरे हात्तीसार सामुदायिक वनका उपभोक्ता सूर्जबहादुर तामाङ र लाल सिँ मोक्तानको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभालाई पत्रलेखि त्यसको बोधार्थसमेत सरोकारवाला अन्य पाँचवटा निकायमा पठाएका छन् ।कोशी करिडोर २२० केभी प्रशारण लाइन निर्माणका क्रममा सरोकारवाला सामुदायिक वनका उपभोक्तालाई बिनाकुनै जानकारी रुख काटेर गुराँस वन फँडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र गुराँस वनको डोजर हटाउन र रुख कटान बन्द गराउन सामुदायिक वनका उपभोक्ताले माग गरेको निवेदनमा उल्लेख गरिएको छ । माग सुनुवाइ नभए सामुदायिक वनका उपभोक्ता कडा आन्दोलनमा जान बाध्य हुने निवेदनमा लेखिएको छ ।कोशी करिडोरले बिजुली पोल जडानका लागि आर्थिक वर्ष २०७७÷७८ मा छ सय २९ रुख कटान गर्ने सम्झौता गरेको र यसका लागि करिब रु १० लाख कटान खर्च उपलब्ध गराएको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताउनुभयो । सम्झौता भएलगत्तै ६२९ रुख काटिएको भए पनि अहिले बिना सम्झौता हजारौँ रुख काटिएको उहाँको आरोप छ । यसैगरी पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिकबहादुर बानियाँलेसमेत गुराँस वन फँडानी भइरहेको बताउनुभयो ।