वीरगञ्ज (पर्सा), २७ चैत |
उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियनको अगुवाईमा मजदुरहरु काम छाडेर आन्दोलनमा उत्रेका थिए ।आन्दोलनरत मजदुर युनियनका पदाधिकारी तथा उद्योग व्यवस्थापनबीच कामबाट हटाइएका मजदुरलाई पुनःबहाली गर्ने र मजदुर आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किने सहमति भएको छ । श्रमिकको तर्फबाट संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासङ्घ मधेस प्रदेश इन्चार्ज माधव पाण्डे र उद्योगीकोतर्फबाट प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।प्रोवायोटेक इण्ड्रष्ट्रिज लिमिटेडले श्रम ऐन, ०७४ को दफा १३१ (४) को (च) बमोजिम खराब आचरण गरेको भनी छ श्रमिकलाई सेवाबाट हटाएको थियो भने अन्य कारण देखाएका पाँचजना थप श्रमिकलाई उद्योग प्रवेशमा रोक लगाएको थियो । निष्कासित गरिएका ११ श्रमिकको पुनःबहालीको माग गर्दै अखिल नेपाल ट्रेड यूनियन महासङ्घ निकट श्रमिकहरु आन्दोलनमा उत्रिएका थिए ।








