म्याग्दी (बेनी), १६ चैत |
नयाँ शैक्षिकसत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्रीवितरण थालेको छ । सामूहिक लगानीमा बिक्रि कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । “हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ, विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक ल्याएका छौँ”अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तकसमेत ल्याउने प्रबन्ध मिलाएका छौँ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।” विसं २०७२ देखि म्याग्दीका पुस्तक व्यवसायीले सामूहिकरुपमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । यो वर्ष महासङ्घमा आबद्ध जिल्लाका २८ जना व्यवसायीले रु एक करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीका लागि पाठ्यपुस्तक ल्याएको जनाएको छ । यसैबीच बिहीबार बेनीमा सामुदायिक विद्यालयमा सरकारी पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा पुस्तक व्यवसायी र सरोकारवालाबीच अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले विद्यार्थीलाई शैक्षिकसत्रको सुरुआतमै पाठ्यपुस्तक हातहातमा पु¥याउने तत्परताका लागि व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।








