रौतहट १४ चैत।
रौतहट जिल्लाका किसानहरु बाली भित्र्याउन लागिपरेका छन् । फागुपूर्णिमा होली सकिएपछि तराई–मधेसका किसानहरू खेतमा लगाइएका तेलहन र दलहन बाली घरमा भित्र्याउनमा व्यस्त देखिएका हुन् । कृषिमा आधारित रहेका मधेसमा नगदे बालीको रुपमा रहेको मसुरी, बंगला, सरसो, तोरी, आलश, केराउलगायतका बाली घरमा सुरक्षित राख्नको लागि किसानहरु व्यस्त भएका छन् ।होली सकिएपछि नगदे बाली भित्र्याउने समय रहेको स्थानीय राजदेवी नगरपालिका– ७ का किसान मदन यादवले बताउँछन् । सुख्खा मौसमको आगमन भएसँगै पानी पर्ने जोखिम उच्च रहेकाले छिटै बाली भित्र्याउने चिन्ता किसानहरुको हुने गरेको यादवको भनाई छ । पानी परेमा तेलहन र दलहन बालीमा असर पुग्ने स्थानीय किसान भिखारी यादवले बताए ।वर्षा हुनुभन्दा पूर्व नै तेलहन, दलहन र गहुँ बाली घरमा राख्नुपर्ने किसान श्रीराम महतोको भनाइ छ । यसैगरी रौतहट जिल्लाको पश्चिमी भागमा चैते धान खेती पनि सुरु गरिएको छ । बारा जिल्लामा अधिक संख्यामा किसानहरूले चैते धानको खेती गर्ने गर्छन् । रौतहटमा भने मौलापुर नगरपालिका, बौद्धिमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिकामा पनि चैते धान खेती गर्ने गरिन्छ ।राजदेवी नगरपालिकाका– ७ मा केही किसानहरुले चैते धान खेतीको सुरुवात गरेको देखिन्छ। असार महिनासम्ममा भित्र्याउन सकिने चैते धानको बिउ लगाउने कार्य भइरहेको स्थानीय किसान पनालाल महतोले बताए । निरन्तर रुपमा पूर्वी हावा चलिरहेकाले मौसम परिवर्तन भएर कुन बेला वर्षात हुन सक्छ भन्ने चिन्ता किसानहरुको रहेको छ ।








