गुल्मी, १३ चैत |

मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माण सुरु पनि भयो । तर त्यही क्रममा दुई पटकसम्म पुल भाँचियो । जसका कारण हालसम्म पनि पुल निर्माण सकिएको छैन । दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण सुरु गरिएको छ । डिजाइन परिवर्तनपछि स्टल ट्रस ब्रिज निर्माण सुरु गरिएको हो । मुसिकोटको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्यद्वार मानिन्छ । लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिस कहिले पुल निर्माण होला भनेर पर्खाइमा छन् ।

स्वीस सरकारको रु चार करोड १४ लाख ४४ हजार सात सय २२ को आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम ललितपुरका प्राविधिक अधिकृत धिराजा पौडेलले जानकारी दिनुभएयो । आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफुहरु आशावादी भएको पौडेलले बताउनुभयो । उहाँले सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संशोधन गर्नुपर्ने भएका कारण काममा केही ढिलाइ हुन पुगेको जानकारी दिनुभयो । अहिले पुलको फाउण्डेशन निर्माणसहित स्टीलका पार्टमा प्वाल पार्ने, जोड्ने र आकार निर्माणका काम भइरहेको छ । बडीगाढ खोलाको झेँदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६ दशमलव ३० मिटर रहेको छ । अहिले स्टील ट्रस ब्रिज निर्माण भइरहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले बताउनुभयो । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यसपटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । उहाँले ठूलो मेहनत गरेर डिजाइन परिवर्तन गरी तीव्र रुपमा काम अगाडि बढिरहेको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here