रौतहट, १७ फागुन ।
दुग्ध उत्पादक सहकारी संघले दुधको रकम अविलम्ब भुक्तानीको माग गर्दै पूर्व पश्चिम राजमार्गको चन्द्रपुरमा २ घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् ।दुग्ध उत्पादक सहकारी संघ चन्द्रपुरले जिल्ला प्रशासन कार्यालयमा गत सोमवार ज्ञापन पत्र बुझाएर विगत ६ महिना देखि बक्यौता रहेका ९ करोड रुपैया अविलम्ब भुक्तानीको माग राख्दै निर्धारित कार्यक्रम अनुसार विहिवार दुई घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरेका हुन् ।डिडिसी र रौतहटका निजी डेरीलाई बिक्री गरेको दूधको पैसा करिब ९ करोड रुपैयाँ किसानले नपाएपछि दुग्ध उत्पादक सहकारी संघ आन्दोलित भएको छ । दुग्ध उत्पादक किसानले चन्द्रपुरको मुख्य सडक खण्डमा बिहान १० बजे देखि १२ बजेसम्म दुई घण्टा चक्काजाम गरे ।दुग्ध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन नै समस्या भएपछि आन्दोलन गर्न बाध्यता भएको बताए ।








