काठमाडौं,७,फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ ।सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ ।दिवसको दिन फागुन ७ गते नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाएको थियो भने तोप र बन्दुकको बढाईंको कार्यक्रम पनि राखिएको छ ।२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।
गत गत माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समितिको बैठकले दिवसलाई फागु ६, ७ र ८ गते तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो । बैठकले घर-घरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान समेत गरेको थियो ।दिवस मनाउन सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरिएको छ ।काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गरिएको छ । साथै सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।








