इनरुवा, २१ माघ |

सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उहाँको भनाइ थियो । आर्थिक वर्ष २०७८-७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९-८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो । जबर्जस्ती करणी उद्योगमा आव २०७८-७९ मा ३० वटा र ०७९-८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । मानव बेचबिखन शिर्षकमा आव २०७८-७९ मा आठ वटा र ०७९-८० मा एउटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ । त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८-७९ मा चार वटा र ०७९-८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ । त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा आव २०७८-७९ मा एउटा र ०७९-८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवकोे पुसमहिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनएको छ । त्यसैगरी बोक्सीको अरोपमा आव २०७९-८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो । बालयौन दुरुपयोग शीर्षकमा आव २०७८-७९ मा १५ वटा र ०७९-८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटामात्र मुद्दा दर्ता भएको थियो । त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८-७९ मा ३६ वटा र ०७९-८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशीताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घट्ना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here