भोजपुर, २१ माघ |
लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन हुनुभएको छ । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ चखेवामा अधिवेशन गरिएको हो । पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा भएको प्रथम अधिवेशनबाट राईको अध्यक्षमा विभिन्न जिल्लाको प्रतिनिधित्व हुनेगरी नौ सदस्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा खोटाङका दुर्गाधन राई, सचिवमा सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्षमा भोजपुरकी किमा शेर्पा चयन हुनुभएको छ । याक चाैँरीको संरक्षणसँगै यसको व्यवसायीकरणका लागि किसान एकजुट भएर लाग्न महासङ्घको गठन गरिएको महासङ्घका केन्द्रीय महासचिव पावीहाङ राईले जानकारी दिनुभयो । “याक चाैँरीपालक पहिलो अधिवेशन सम्पन्न गरेको छौँ,महासङ्घले याक चौँरीको संरक्षण तथा कृषकलाई एकजुट बनाएर यहाँ देखिएका समस्याको समाधानमा पहलकदमी गर्नेछ ।” २८ जिल्लामा समिति विस्तारको काम भइरहेको उहाँले जानकारी दिनुभयो । कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले याक चौँरीको संरक्षण तथा यस क्षेत्रको समस्या समाधानका लागि आफ्नो तहबाट पहल कदमी गर्ने बताउनुभयो ।
यो व्यवसायलाई पर्यटनसँग जोडेर यहाँको आयस्रोतका रुपमा लैजानुपर्ने उहाँको भनाइ थियो । “याक चौँरी संरक्षणका लागि महासङ्घलाई आवश्यकअनुसार सहयोग गनेछु”, वान्तावाले भन्नुभयो, “यसलाई कृषि पर्यटनका रुपमा विकास गरेर कृषकको आयआर्जनसँग जोड्न आवश्यक छ । हामीले उत्पादनमूलक काममा ध्यान दिन जरुरी छ ।” डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले याक चौँरीको चरीचरनका लागि सामुदायिक वनको कार्ययोजना बनाउन सहजीकरण गर्ने बताउनुभयो । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले याक चाैँरीको संरक्षणले वातावरणको पर्यावरण सुधारमा सहयोग पुग्ने भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताउनुभयो । यो व्यवसायलाई जीविकोपार्जनसँग जोडर लैजानुपर्ने उहाँको भनाइ थियो । स्थानीय सरकारसँग थोरैमात्र बजेट हुने भएकाले महासङ्घले केन्द्र तथा प्रदेश सरकारसँग आवश्यक समन्वय तथा सहकार्यका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले ऐतिहासिक कामको थालनी भएकाले यसले याक चौँरीको संरक्षण तथा विकासमा टेवा पुग्ने बताउनुभयो । पालिकाले कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले कृषि उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको धारणा राख्नुभयो । महासङ्घले थालेको काम पालिकाको नीति तथा कार्यक्रमसँग मिल्ने उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति सभापति कमल थुलुङले महासङ्घले याक चाैँरीको संरक्षणका लागि थालेको काम प्रशंसायोग्य रहेको बताउँदै यसलाई किसानको आयस्रोतसँग जोडेर लैजानुपर्ने बताउनुभयो । याक चौँरीपालन व्यवसाय लोप हुने अवस्था पुगेकाले यसको संरक्षणका लागि जुटेको कार्यक्रमका अध्यक्ष तथा केन्द्रीय सचिव चन्द्र नेपालले बताउनुभयो । यसको संरक्षणसँगै किसानका समस्या समाधनमा राज्यले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।








