अत्तरिया, २० पुस :

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको यस अस्पतालले विभिन्न उपकरण थपेको छ । सरकारी अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा बिरामीले निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो । अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेर गत वर्षदेखि सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामीको बाध्यता हटेको छ । हामीले गत वर्षदेखि सिटीस्क्यान सेवा सुरु गरेका हौँ, सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो, यसबाट धेरै बिरामी लाभान्वित भएका छन् । शुल्क पनि बाहिरभन्दा यहाँ ३० देखि ४० प्रतिशत कम छ । सिटीस्क्यानका लागि दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ । हालै मात्रै अस्पतालले एमआरआई मेसिन खरिद गरेर ल्याएको छ । यसअघि एमआरआई सेवा नहुँदा यस क्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए । एमआरआई मेसिन आइसकेको छ । यो सिटीस्क्यानभन्दा परिस्कृत मेसिन हो, डा कमरले भन्नुभयो, जडान हुँदैछ, केही हप्तामा सेवा सुरु हुन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउकोलगायत शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । अस्पतालमा २० शय्याको डायलासिस सेवा पनि सञ्चालनमा छ । विगतमा १५ शय्याबाट सेवा दिँदै आएकामा हाल विस्तार गरेर २० शय्या पु¥याइएको डा कमरले बताउनुभयो । उहाँले भन्नुभयो, डायलासिसका लागि शय्या पनि बढाएका छौँ । दैनिक ४० देखि ५० जना बिरामीले सेवा लिनुहुन्छ । सरकारले तोकेका व्यक्तिले यो सेवा निःशुल्क पाउनुहुन्छ । सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ गरी एक सय २५ शय्याको स्वीकृति रहेको अस्पतालमा हाल तीन सय शय्या सञ्चालनमा छ । निमित्त सुपरिटेन्डेन्ट डा कमरले भन्नुभयो, एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै तीन सय शय्या सञ्चालन गरिहेका छौँ । सेवा विस्तारसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेका छौँ । भीडभाड कम गर्न टिकट काउन्टर व्यवस्थितसँगै विस्तार गरिएको छ । शल्यक्रिया कक्ष थपेका छौँ । जनशक्ति व्यवस्थापन गरिएको छ । ल्याबलाई व्यवस्थित बनाइएको छ । अल्ट्रासाउण्ड गर्न दुई÷तीन दिन कुर्नुपर्ने अवस्था थियो अहिले छैन, उहाँले भन्नुभयो, “सिटीस्क्यानको रिपोर्टका लागि चार÷पाँच दिन कुर्नुपर्ने अवस्था थियो । अहिले समयमै हुन्छ । आकस्मिक सेवाको चापलाई कम गर्न १५ शय्याको ‘अब्जरभेशन वार्ड’ बनाएका छौँ । आगोले जलेको उपचार गर्न चार शय्याको ‘बर्न वार्ड’ पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार सेवा थप्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताउनुभयो । उहाँले भन्नुभयो, थप सेवा विस्तार गर्ने योजनामा छौँ । हामी कहाँ क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार छैन । यसका लागि पहलमा लागेका छौँ । स्वास्थ्य शैक्षिक कार्यक्रम चलाउने योजना छ । जसमा पिसियल लेवलको पढाइ हुनेछ । यो प्रक्रिया अगाडि बढेको छ । अस्पतालमा विद्युत् फिडर लाइन जडानको पहल पनि भइरहेको छ । जसले गर्दा छिन्छिनमा बत्ती जाने समस्या हल हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here