देउखुरी (दाङ), १९ पुस |

घोराही उपमहानगरपालिका– ६ का किसान भीमबहादुर डाँगीले दुई दुहँुना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा वरर्सिम घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलोे भएको छ । खेतमा घाँस छर्नुअघि उहाँले दुई घण्टा हिँडेर धारापानीको जङ्गलबाट घाँस ल्याउनुपर्ने बाध्यता थियो । हिँउदमा आफ्नो एक बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो वरर्सिम घाँस लगाउने गर्नुभएको छ । उहाँले खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो । हरियो हुँदा काटेर भैँसी र बाख्रालाई खुवाउन पाइएको बताउनुभयो । सुकेको डाँठलाई पनि भुसका रुपमा खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उहाँले बताउनुभयो ।हिउँदमा वरर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पु¥याउँछ । पशुपालक किसानका लागि वरर्सिम घाँस एकदमै उपयोगी भएको उहाँले बताउनुभयो । “एक बिघा खेतबाट एक याममा रु दुई लाख आम्दानी हुन्छ, गत वर्षमात्र मैले रु एक लाखको वरर्सिम घाँसको दाना बेचेँ । सोही गाउँका खुसलराम डाँगी पेसाले शिक्षक हुनुहुन्छ । उहाँले दुई भैँसी र पाँच बाख्रा पाल्नुभएको छ । “बाह्र कट्ठा खेतमा वरर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ । बिहान बेलुका घर छेउको खेतबाट घाँस काटेर खुवाउन सजिलो भएको छ । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरेको उहाँले बताउनुभयो । “गत वर्ष रु ८० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ, यसपाली एकपटक काटेर सकियो, चार पटकसम्म काट्न सकिन्छ । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उमँ्रदा धान काटिसकेको हुनुपर्छ । हरियो र सुकेको वरर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको उहाँको भनाइ छ । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानको ‘ग्रिन गोल्ड’ वरर्सिम घाँसप्रति आकर्षण बढेको छ । घोराही– ६ का गुरुवागाउँ, जजरागाउँ, वेरगै, गुरगै, बेरुवागाउँ, फचकपुर र अघरा तथा घोराही–१७ को गैरागाउँ र कर्जाहीका किसानले वरर्सिम घाँसखेती गरेका छन् । अहिले पूरै खेतभरि हरियो वरर्सिमखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घर परिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । दाङमा यो घाँसखेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । सचिव अधिकारीका अनुसार अहिले एक सय २० हेक्टरमा वरर्सिम घाँसखेती गरिएको छ । घोराही उपमहानगरपालिकाको कृषि शाखाले पशुपालक किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा वरर्सिम घाँस वितरण गर्ने गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here