रौतहट, १९ पुस । रौतहट जिल्लामा ठूलो परिमाणमा एक हजारको नक्कली नोट सहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता एवं डिएपसी एलिजा गिरीले पछिल्ला विभिन्न समयमा पक्राउ परेका केही व्यक्तिहरु संग गरिएको सुक्ष्म अनुसन्धानबाट खुलेका आधार प्रमाणका आधारमा छानविन गर्दै जाँदा बुधवार साँझ ६ बजेको समयमा जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ८ पटेल चोकमा थापिएको सुरक्षा चेकजाँचको क्रममा ठूलो परिमाणमा नेपाली एक हजारको नक्कली नोट सहित पक्राउ गरिएका व्यक्तिलाई सार्वजनिक गरिन् ।
एक हजारको १८४३ थान अर्थात १८ लाख ४३ हजार नक्कली नोट सहित रौतहटको गुजरा नगरपालिका वडा नम्वर ५ हरिहरपुर का २५ बर्षिय संदिप यादवलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन् । पक्राउ परेका यादवको साथबाट जाली नोट जस्तो देखिने उक्त रकम फेला परेको हुँदा मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाइएको उनले बताए ।
पक्राउ परेका यादवको साथबाट पाँच थान विभिन्न बैंकको एटिएम कार्ड, १६ लाख ६५ हजार रकम उल्लेख भएका तिन थान चेक र एक थान ओप्पोको मोवाइल बरामद गरिएको छ ।






