चितवन, १४ पुस |
नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु. एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो ।गएको जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाईएको हो । निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाईने तयारी छ । पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो । महानगर प्रमुख रेनु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । वर्षात्को समयमा भुईको काम गर्न कठिन हुने भएकाले यही हिउँददेखि काम थाल्न सकिएमा वर्षायाममा काम गर्न सहज हुने उहाँले बताउनुभयो ।